आमा – (आशिषित कथा ) – अरुणा छन्त्याल

आमा – (आशिषित कथा ) – अरुणा छन्त्याल

  • Post author:
  • Post category:Stories
  • Post comments:0 Comments
  • Reading time:1 mins read
You are currently viewing आमा – (आशिषित कथा ) – अरुणा छन्त्याल
File Photo

धन्यवादी भई, उहाँको ढोकाभित्र पस्नेछु, आँगनभित्र, प्रशंसासाथ,

भन्नेछु यो त्यही दिन हो, जो उहाँले बनाउनुभो,

खुशी छु, उहाँले खुशी पार्नुभो…

आज म परमप्रभुप्रति धन्यवादी भई यो भजन आनन्दले पुलकित भई गाउँदैछु | अस्पताल जानेबेला जति समय लाग्छ, आउनेबेला पनि त्यति नै लाग्छ, आज आउनेबेला झन् ट्राफिक जामले गर्दा अलिक बढि नै समय लाग्यो तर मनमा उल्लास भरिएकोले मनमनै भजन गाउँदै-आउँदै गर्दा मलाई यही बाटो छोटो लाग्यो | यही बाटो म धेरैपल्ट आँसु, निराशा, सन्देह र छटपटी बोकेर हिँडे तर आजजस्तो सिमलको भुवासरि हलुको भएर फुरुंग-फुरुंग फुरुंगिदै कहिल्यै पनि हिंडेकी थिईनँ, प्रभुलाई धन्यवाद होस् |

अब्राहमकी पत्नी साराहलाई बाँझी हुँदासम्म कस्तो पीडा भयो ? त्यो म जान्दछु किनकि मैले पनि त्यस्तै भोगें | विवाह भएको पाँच वर्षसम्म पनि सन्तान नहुँदा सासुले श्रीमानलाई सुटुक्क अर्की ल्याउन सल्लाह दिएको मैले नै सुनें | मेरो श्रीमानले पनि आमाको मन राख्न हो कि के हो ? ‘अझै एक वर्ष पर्खौं, अझै नि भएन भने म त्यसतर्फ सोंचूँला नि आमा’ भने, मलाई त त्यो कुरा सुनेर श्रीमानप्रति र आफैंप्रति रीस जाग्यो, ‘ए ! के रे ? अर्की ल्याउने रे ? मलाई बच्चा पाउने मेसिन मात्रै नठान, कमजोरी तिम्रै किरामा छ भनेको सुनेनौ डाक्टरले ? आफैं थारो भएर आइमाईलाई मात्र बाँझी नदेख बुझ्यौ ?’ भनी सासुकै अगाडि मुख फालिदिन मन थियो तर मैले आफूलाई सम्हालें, अर्की ल्याउने भए ल्याउन्, १० वटी ल्याउँदा पनि थारोको थारै भएपछि बल्ल सुद्धि आउला नि भन्नेजस्तो पनि लाग्यो तर आइमाई-मन न हो, मन त्यसै-त्यसै कुँडियो अनि त्यस रात श्रीमानसित नबोली रोएरै बिताएँ |

बिहेअघि श्रीमानले गरेको प्रेम र बाचा सबै एक-एक गरी सम्झें तर त्यतिखेर ती सब वाहियात लागे | मानिसको प्रेम समयसँगै बदलिन्छ भनेको सुनेथें, हो रहेछ भन्ने लाग्यो | मैले आफू रोएको आवाज दबाए पनि श्रीमानले थाहा पाएछन्, ‘किन के भो तिमीलाई ?’ भन्दै भित्तातिर फर्केर सुँकसुँकाइरहेकी मलाई कोट्याउन थाले अनि त निकै बेरसम्म आफ्नो भक्कानो रोकेर बसेकी म ह्वाँह्वाँ नै रोइदिएँ, रुँदै मनको पीर पोखें पनि,

‘सन्तानको रहर तिमीलाई मात्र हो र, मलाई पनि छ … मेरो गर्भ बसेन भनेर तिमीले ममाथि सौता हाल्ने सोचिसकेछौ होइन ?”

मेरो कुराले उनले अघि आमासित भएको कुरा मैले सुनेछु भन्ने चाल पाए र स्पष्टिकरण दिन थाले, ‘हेर, मैले आमाको मन राख्न मात्र त्यसो भनेको हुँ, तिमीलाई थाहै छ, आमा अलि पुरातन विचारको हुनुहुन्छ, म तिमीलाई प्रेम गर्छु, मेरो मन बुझ न, मबाट दोस्रो बिहे कहिल्यै हुनेछैन, त्यसै चिन्ता नलेऊ प्रिये |’ उनले यति भनेपछि मन अलिकति थामियो र निदाउन सकें |

लामो समयपछि एकदिन मेरी झापाली बालसखालाई भेटें | उनी मेरो घर सोध्दै-खोज्दै आएकी रहिछन् | उनको साथमा अत्यन्त मायालाग्दी टुकुटुकु हिंड्ने सानी छोरी पनि थिई जसलाई देखेर मेरो वर्षौंदेखि कुण्ठित सन्तानको रहर फेरि एकपल्ट जुर्मुरायो तर म विवस थिएँ, म लाचार थिएँ | तै आफ्नो बाल्यकालदेखिकै अति मिल्ने साथीलाई वर्षौंदेखि थलिएर बसेको आफ्नो यो सारा वेदना पोखें, निरुपाय भएपनि मैले भिजेको परेली पुछ्दै सोधें, ‘म के गरूँ बिन्दु ? समाजको दवाबले उनले अर्की ल्याए भने म त जिउँदै मर्छु क्यारे |’

मेरो व्यथा सुनेपछि उनले मलाई अंगालो हालिन् र सान्तवना दिइन्, ‘नरोऊ ईशा, तिम्रोनिम्ति आशा छ, तिमीले यो बाँझोपनबाट मुक्ति पाउन सक्छौ |’ मलाई सोझो सान्तवना मात्र दिने मित्रहरु त धेरै नै थिए तर त्यसरी बिन्दुलेझैं आशा आजसम्म कसैले पनि दिएको थिएन | मलाई जीवनमै पहिलोपल्ट बडो ताजुप लाग्यो, उनले मलाई आशा छ र मेरो यो समस्याबाट मुक्ति छ भन्ने कुरा सुन्दा पनि त्यसै-त्यसै कताकता आशा जागेझैं भयो | म सारा डाक्टरी र धामी-झाँक्रीको उपचार गर्दा-गर्दा दिक्क भइसकेको मान्छे, बिन्दुले भनेको त्यस्तो आशा र छुटकाराको उपाय के रहेछ भनी जान्ने उत्कट लालसा जाग्यो र उनलाई सोधें, ‘ओहो ! के साँच्चै तिमीले भनेझै मलाई अझै आशा छ कतै ? कसरी, कुन उपायले मैले यो समस्याबाट छुटकारा पाउन सक्छु ?’

त्यसपछि हो, मैले उनको मुखबाट जीवनमै पहिलोपटक संसारका मुक्तिदाता येशु ख्रीष्टको बारेमा सुनें | म अचम्मित र खुशी दुवै भएँ अनि तत्कालै प्रभुलाई पछ्याउँछु भन्ने निर्णय लिएँ | जानेबेलामा बिन्दुले मेरोलागि स्वर निकालेर प्रार्थना गरिदिइन्, ‘प्रभु ! यो तपाईकी छोरीलाई सहायता गर्नुस्, संसारले यिनलाई नि:सन्तान भनी हेपेको छ, तपाई यिनको पीडा जान्नुहुन्छ | प्रभु ! यिनले जानी-नजानी गरेका पाप क्षमा दिनोस् | यिनलाई साराहको दिन फिरेझैं फेरि हराभरा पार्नुहोस् ताकी यिनलाई खिसी गर्नेहरुले तपाई साँचो परमेश्वरको महिमा देखुन् अनि तिनीहरुको खिसीटिउरी बन्द हुन सकोस्, आमेन |’

बिन्दुले यसरी मेरै मनको वेदना पोख्दा मेरा आँखाबाट आँसुका धारा बगे | ती अन्जान परमेश्वरले मेरो वेदना पक्कै पनि सुन्लान् भन्ने आशा गरें | बिस्तारै म बिन्दुसँगै मण्डली जान थालें अनि लगत्तै श्रीमानलाई पनि ख्रीष्टमा विश्वास गर्न हौसाएँ | बिन्दुकै गवाही सुनेर हामी प्रभुमा आयौं, उनी पनि पहिले थुप्रै वर्ष बाँझी रहेर समाजको अपहेलना सहेकी रहिछन् तर पछि परमेश्वरले उनको गर्भ भरिदिएका रहेछन् | उनको गवाही सुनेर मैले नयाँ आशा र रंगिन सपना देख्न थालें |

तै, परमेश्वरले हाम्रो विश्वासको जाँच लिने इच्छा गर्नुभएछ; विश्वासी भएको पूरा दुई वर्ष नि:सन्तान नै रहें | त्यतिन्जेल फेरि निराशा र आँसुले गाँज्यो, जोरीपारीले ‘ठीक्क पर्यो त्यल्लाई… चोक्टा खान गएकी बूढी, झोलमा डुबी’ भन्नुसम्म भने तर मैले आफ्नो विश्वास त्यागिनँ, परमेश्वरको इच्छा मेरो कोखलाई बाँझै राख्नु छ भने मैले के गर्न सक्छु र ? सर्वशक्तिमानको इच्छालाई बदल्न सक्ने म को हुँ र ? नानी पाए नि खुशी, नपाए नि खुशी हुनुपर्छ म !’ भन्ने अठोट मनमा आयो |

त्यसैताका हो, मेरा मनमा विचारका अनगिन्ती ज्वारभाटा उर्लेका | झट्ट, आफ्ना जन्म दिने आमाबालाई हुर्केर ठूला भएपछि घरबाट निकालिदिने वा वृद्धाश्रममा छाडिदिने निर्दयी सन्तानबारे सम्झें | कति दुःखले आफूले जन्मायो, हुर्कायो, जान्ने-सुन्ने बनायो, आफ्नै गाँस काटेर त्यो सन्तानलाई खुवायो-पियायो, अन्तमा बुढेसकालमा त्यही सन्तानले आफूलाई बोझ ठानी त्याग्ने ? उफ् ! त्यस्ता निर्दयी-अबुझ सन्तान हुनुभन्दा त बाँझै रहनु कति हो कति राम्रो | मेरै भाइ यस्तै सन्तानको एउटा ज्वलन्त उदाहरण जो हो, मैले यो कुरो कस्तो मज्जाले भुलेकी | छोरोको आशमा ५ छोरी लहरै जन्मेपछि अनेक पूजापाठ-भाकल गरी मेरा आमाबाले एउटा छोरो पाए | एउटै छोरो भएकोले मेरा आमाबाले उसका सबै रहर पुराइदिए | हामीले पनि हाम्रो सानो भाइ भन्दै पुलपुलाउँदै हुर्कायौं | उसले छोरीहरुले पढ्न नपाएको महँगो बोर्डिंग स्कूल पढ्न पायो, महंगा-महंगा लुगा लाउन र मीठो खान पायो तरे पनि ऊ आमाबाले गर्व गर्नसक्ने गतिलो छोरो भएन | १० क्लासमा ३ चोटी गुल्ट्यो अनि एउटी नक्कलीलाई भगाएर ल्यायो, त्यही नक्कलीसित पल्केर जोइटिन्ग्रेले एकदिन बाबालाई अंश माग्यो | आफूले त्यत्रो माया दिएर हुर्काएको छोरोले अन्तमा आफू जिउँदै हुँदा अचानक त्यसरी अंश मागी छुट्टिएर बस्छु भनेपछि बूढा बाबालाई हृदयघात भयो र उहाँले तत्कालै संसार छाड्नुभो |

अनि त्यसपछि त झन् के चाहियो, पहिल्यैदेखि पैतृक सम्पतिमा आँखा गाडेको छोरोले ‘यो घर-जग्गा सबै मेरो हो’ भन्दै राज गर्न थाल्यो र निरिह आमालाईसमेत घर बस्न दिएन | निर्लज्ज प्रकारले उसले ‘तिम्रै प्यारी छोरीहरुसित बस’ भन्दै आमालाई घर छोडी जाने हुकुम दियो | त्यस रात आमा रुँदै मेरो घरको ढोकामा आइपुगेकी थिइन्, मेरा श्रीमान मेरो भाइजस्तो नभएकोले आमाले मकहाँ शरण पाइन् तर आमा यहाँ धेरै दिन बस्नुभएन | घरमा सासु-ससुरा छँदै थिए, सायद आफ्नै घरबार भएकी हामी छोरीहरुसँग बस्न आमालाई अप्ठ्यारो लाग्यो होला, उहाँ आफैं एकदिन ‘पशुपति वृद्धाश्रम’ जानुभो | पहिलोचोटी उहाँलाई भेट्न जाँदा मेरो भक्कानो छुट्यो तर उहाँले शान्त भएर मलाई सम्झाउनुभो, ‘नरो साइँली, किन रुन्छस् ? मेरो भाग्यमा यही लेखे रै’च, केही छैन, तँ पीर नगर्, म शान्तिमै छु | बस्, तैंले मैलेजस्तो भोग्न नपरोस्, यही चाहन्छु |’

 

आमाले ‘तैंले मैलेजस्तो भोग्न नपरोस्’ भन्नुभएको सम्झें, सायद त्यस्तै नियति भोग्न नपरोस् भनेर नै म बाँझी भएकी हो किझैं लाग्यो अनि प्रभुलाई प्रार्थना चढाएँ, ‘प्रभु ! मेरो भविष्य तपाई जान्नुहुन्छ भन्ने म जान्दछु | यदि मेरो सन्तानले पनि भोलि बुढेसकालमा मलाई बोझ ठानी त्याग्छ भने चाहिन्न मलाई त्यस्तो सन्तान, म आजीवन बाँझै रहेर तपाईमा खुशी रहनेछु, येशु प्रभुको नाउँमा आमेन !’

फेरि अर्कोतर्फ, आमाको त्याग र ममतालाई नबुझ्ने निर्दयी सन्तानबारे सोंचिरहँदा कता-कताबाट झट्ट मलाई गाउँकी मेरी राँइली फुपूको याद आयो | उनलाई सम्झनेबित्तिकै ‘हैट ! आमा भनेर सबै ममतामयी-त्यागी हुन्नन् पो बाबै’ भन्न मन लाग्यो अनि एकताका निर्दयी आमा भएकी उनले नै विवाहपछि पाँचओटासम्म सन्तानकी आमा बन्न पाउने सौभाग्य पाएकोमा मलाई कताकता बेस्सरी डाह लाग्यो | मलाई थाहा छ, विश्वासी भएपछि डाह गर्नुहुन्न तर मानवको पापी स्वभाव न हो, मैले चाहेर पनि डाही नहुन सकिनँ |

म र काँइली आमा एकदिन मकै गोडेर घर फर्कंदै थियौं, काँइली बज्यैले एक्कासी ‘आँई ! तो राँइली खै ?’ भनी सोध्नुभो, मैले ‘अघि नै मलाई पेट दुख्यो भनेर घर गइन्’ भनें तर बज्यै खंगरंग तर्सिएझैं तर्सिनुभो, ‘ए आँबोई ! तेल्ले काहीं नानी त फालेन ? हिन् त हिन्, तेल्लाई खोज्न जाम् |’ मलाई त बज्यैले के भन्नुभएको भन्ने केही थाहा भएन, त्यत्तिकै लुखुर-लुखुर उहाँको पछि लागें |

मैले फुपूले पेट दुख्यो भनेर छोडेको ठाउँ देखाइदिएँ, त्यसको अलि पर उन्युघारीतिर भुइँभरि रगत लत्पतिएको थियो, उन्यु र घाँसमा लत्पतिएको त्यही रगत पछ्याउँदै जाँदा अलि पर एउटा खन्युको रुखमुनी मासु र रगतको डल्लोझैं एउटा वस्तु फालिएको देख्यौं | म त अन्जान थिएँ क्यारे, बज्यै चिच्याउनुभो, ‘ए आँबोई ! मैले भनेको होइन ? त्यो रन्डीले यहाँ नानी फालिसकेरैछ…’ भन्दै बज्यै त्यो मासुको डल्लोनजिक जानुभो अनि छेउछाउबाट काठको एउटा लामो सिन्का खोजेर त्यो मासुको डल्लोलाई सिन्काले कोट्याउनुभो अनि त्यो डल्लो ‘च्याँ…’ गर्दै रोयो |

बज्यैले ‘ए बारा ! नानी जिउँदै रैछ’ भन्नुभो अनि आफ्नो पटुकीले पुछपाछ गर्न थाल्नुभो, नानीलाई पुछ्दा बज्यै फेरि चिच्याउनुभो, ‘ए आँबोई नि ! तो डंकिनीले नानीलाई मार्नै ला’रैछ’ | मैले यसो हेरेको त आमा हो ! नानीको नाइटोमा त स्याउँ-स्याउँ औंस्याहा परिसकेको रहेछ, ती किरा बज्यैले पापिनी आमालाई सराप्दै सिन्काले कोट्याएर निकाल्नुभो अनि त्यही पटुकीमा बेरेर घर ल्याउनुभो | त्यो नानी चार दिन बाँच्यो अनि मर्यो, कति राम्रो, हेर्दै रहरलाग्दो छोरो थियो तर निर्दयी आमाको कोखमा जन्मेकोले त्यो नानीले हुर्कन पाएन च्व…च्व..च्व |

म अलि ठूली बुझ्ने भएपछि आमालाई सोध्दा फुपूले बिहे नहुँदै भुँडी बोकेकी रहिछन्, नानीको बाबु विदेशिसकेको भएपनि कचहरी बसेर सासु-ससुराले उनलाई बुहारी स्वीकारेका रहेछन् | फुपूचाहीं नानी जन्मिनेसम्म माइतमै बस्न थालिछन् | जवानीको रंग चढेर अन्धो भएर उनले जुन पुरुषको पेट बोकेकी थिइन्, नि:सन्देह त्यही पुरुषसित जीवनभर सँगै बस्ने मन उनलाई थिएन, त्यसैले त नानीलाई जन्मिनेबित्तिकै मरोस् भनेर वनमा फालिदिएकी | ती फुपू कस्ती पापिनी आमा ! तर फेरि तिनै फुपूकी आमा (काँइली बज्यै) कस्ती ममतामयी आमा ! आफ्नै छोरीले फालेको शिशुलाई उहाँले चार दिनसम्म आफ्नै साथमा राख्नुभो | त्यैपनि फुपूले आफ्नो बच्चालाई फुटेको आँखाले पनि हेरिनन् | म नानीलाई खेलाउन जाँदा बज्यै नानीलाई भैंसीको दूध चम्चाले खुवाउँदै आँखा तर्केर हिंड्ने छोरीलाई गाली गरिरहनुभएकी हुन्थिन् | उनले सम्बन्ध गाँसेको पुरुषसँग पक्कै पनि उनको गहिरो प्रेम थिएन, त्यसैले त उनी अर्थात् फुपूका श्रीमान अर्थात् नानीको बाउ, लाहुरबाट बिदामा आउनुभन्दा केही दिनअगावै फुपू त गाउँकै अर्को ठिटोसित पोइल गइन् | हैट, कतिसम्मकी पुरुषलम्पट स्त्री हुन सक्छे आइमाई पनि, उफ ! त्यस्ती आइमाइले पनि ‘आमा’ हुन पाउनुपरेको, मैले त गर्दिनँ भन्दा पनि डाह गरें | अरु त अरु, नानी फालेकी त्यही आमा भनाउँदी फुपूले अर्को लोग्नेबाट लस्करै चारवटा जन्माउँदा तर मचाहिं बाँझीको नै बाँझी रहँदा विधातादेखि म कम्ति आक्रोशित भइनँ, लाग्यो विधाताको अघि आफ्नै नानीलाई जन्मिनेबितिकै जंगलमा फाल्ने आमाभन्दा पनि म पो बढ्ता पापिनी रहेछु, मलाई विधाताको यो क्रुर प्रहार देखेर साह्रै रीस उठ्यो तर म त बेकारको निर्जीव ढुंगालाई पो विधाता मान्दै आफ्नो आक्रोश पोखिरहेकी रहेछु अनि त ढुंगाले के बुझोस् मेरो पीडा ? त्यो ढुंगा थियो, त्यसैले त्यसले मेरो पुकार कहिल्यै सुनेन, अहँ सुन्दै सुनेन |

धेरै पछि साँचो परमेश्वरलाई चिनें जसको अघि आफ्नो आक्रोश पोख्दा म उल्टो हलुङ्गो र आनन्दित भएँ | यो कस्तो बदलाव ममा कि म रित्तो भइकन पनि भरिएको अनुभव गर्न थालें, हल्लेलुयाह !

अर्कोतर्फ, चारवटा सन्तानकी आमा भइसकेर पनि लोग्नेसहित सबै सन्तानलाई त्यागेर आफ्नै देवरसित पोइल जाने मेरी संगिनीकी आमालाई सम्झें अनि लोग्नेले खाडीमा दुःख गरी कमाएको पैसा झ्वाम पारेर नानीलाई समेत त्यागेर नाठासित पोइल जाने माइलीलाई सम्झें | ‘आमाको नाउँलाई कलंकित पार्ने यस्ता आमाहरुलाई देखी रीस उठ्यो अनि म त त्यस्ती होइन नि, तब किन मैले खडेरी खेप्दैछु प्रभु ?’ भनी म धेरै कहालिएर रोएँ र अन्तमा एकदिन प्रभुले मेरो पुकार सुनेर देखाउनुभयो |

यसको साथै, आफ्नो स्तन बिग्रिएला भनेर आफ्नै नानीलाई स्तनको दुध नखुवाउने आमालाई देख्दा मलाई कन्सिरी नै तात्ने रीस उठेको थियो | त्यो आमा नातामा मेरी भाउजू पर्थिन् | एकदिन हामी नातेदारकै बिहेमा भेटेका थियौं | पोखरा सहरमा हुर्केकी एक नम्बरकी नक्कली भएकीले होला ती भाउजू आफ्नो सुन्दरता जोगाउन आफ्नै सन्तानको नैसर्गिक अधिकार खोस्नसमेत पछि परिनन् | मेरी नन्दले आफ्नो थुन बाहिर निकाली आफ्नी छोरीलाई चुसाएकी दृश्य अचम्म मानेर ती भाउजूको छोरोले हेर्दै थियो | ती दुवै नानीहरु भर्खरै तोते बोली फुटेका थिए, त्यो दृश्य एकछिन टोलाएर हेरेपछि त्यो फुच्चे सरासर आफ्नी आमाको छेउमा गयो र आमाको छाती छुँदै भन्यो- ‘ममी ! मलाई पनि यो दिनू न, ऊ पिंकीको ममीलेजस्तै…|’ त्यसपछि रीसले आगो हुँदै भाउजूले छोरोलाई गालामा चड्कन दिएको देखियो, गालि गर्दै पिन्कीलेझैं दूध खायो भने रोगी भइन्छ भन्ने झुटो कुरा सिकाउँदै फकाउन खोजेको प्रयास गरेको पनि देखियो | म छक्क परें, त्यो छोरो भोलि ठूलो भएर आफ्नी आमालाई सम्मान गर्ला कि नगर्ला ?

‘सुन्दरता के स्त्रीको स्तनमा हुन्छ ? परमेश्वरले सन्तानलाई चुसाओस् भनेर दिनुभएको स्तन कस्तो मानसिकता बोकेर नचुसाएको ? के वेश्यावृत्ति गर्ने हो र ? वा ब्रह्माण्ड सुन्दरी बन्ने हो र ? तै तैंले आजसम्मै नचुसाएका तेरा स्तन हेर्दामा आकर्षक छैन बुझिस्, नझोल्लिएको बरु होला तर त्यो गान्निएर भद्दा बेलुनझैं पो देखिन्छ बुझिस् ? तँलाई आफ्नो जिऊ घटाउने सोर चाहिं छैन तर दुधको चिन्ताचाहिं लागेछ, हो ? तेरो भैंसीजत्रो जिऊलाई भैंसीजत्रै थुन झुन्डेको छ जुन सन्तानलाई नचुसाएपनि बलिउडको सुन्दरीको जस्तो फिटिक्कै छैन बुझिस् बरु सन्तानलाई चुसाएकी मेरी नन्दका स्तन उनको जिऊसँगै आकर्षक छन्, थुक्क मोरी ! तँ आमा हुँदै होइनस्…’ भनेर धित मर्नेगरी हपारीदिउँझैं भइरा’थ्यो तर आफ्नो अवस्थाले मलाई रोक्यो | यस्तै निर्दयी आमालाई देख्दा हो, मेरो मन नमीठो गरी कुँडियो जहाँ म त्यो विधातादेखि फेरि रिसाएँ जसले आफ्नो स्तन चुसाउन हिच्किचाउने स्त्रीको कोख भरिदियो तर मेरो रित्तैको रित्तै राख्यो | ‘धिक्कार मलाई’ भन्दै भित्रभित्रै म कहालिएँ |

मेरी नन्द र ती भाउजू सँगसँगै एउटै नरसिंग होममा सुत्केरी भएका थिए र नन्दलाई सुत्केरी अवस्थामा स्याहार गर्न मलाई सासुआमाले उनीकहाँ (पोखरा) पठाउनुभा’थ्यो | अस्पतालमा मैले ती भाउजूको त्यस्तै चर्तिकला देख्दा म भित्रभित्रै कहलिएँथें; नाबालक नानी आमाको दूध पाउन रुँदा उनले बोतलको नकली निपलसहितको पाउडर दूध नानीको मुखमा जोतिन् | पक्कै मानिसको बच्चाले जन्मनासाथ आमाको काख र छातीको दूध छुट्याउन सक्छ होला, तब त त्यो नानीले सुरुको केही घण्टा बोतलको दूध खाँदै खाएन, नानीले बोतलको दूध नखाउन्जेलसम्म ती निर्दयी भाउजूले नानीलाई कहालिएर रुन दिइन् | ‘हेर न निरु, छोरो रोयो के, अलिकति तिम्रै दूध खुवाऊ न’ भनेर लोग्नेले फकाउन खोज्दा ‘म खुवाउन्न भनेर पहिल्यै भन्या होइन ? सुरुमा नखाको हो, एकछिन यत्तिकै रुन देऊ, भोक साह्रै चर्केपछि आफै खान्छ बोतलको दूध’ भनी झर्किंदै बोलिन् | आफ्नो नानी रुँदा आमाको छाती चर्किन्छ रे, त्यो नानी रुँदा उसको आमाको त होइन बरु मेरो पो छाती चर्क्यो | उनको लोग्ने भनाउँदो पनि कस्तो रहेछ कुन्नि, स्वास्नीले दुध नचुसाउँदा केही नभन्ने, के थाहा ?  सायद त्यही लोग्नेले नै नचुसाऊ भनेको पो हो कि ? अरु त अरु, घरमा सासुले पनि ती उत्तर-आधुनिक बुहारीको ढिपीलाई जित्न सकिनछन्, त्यस्तिलाई त मेरी सासुजस्ती कडा हुकुमी सासुआमा पर्नुपर्ने तर ठीक उल्टो देखेर मलाई आरिस लाग्यो |

तर जे होस्, प्रभुले मेरा विगतका ती तमाम छटपटी र आक्रोश मत्थर पारिदिनुभएको छ | आज मेरो गर्भमा पनि फूल फूलेको दुई हप्ता भयो भन्ने अत्यन्त खुशीको कुरा अस्पतालमा सुनेर आएँ | म त असमयमै मेनोपज भयो कि भन्ठानेर भारी मन लिएर अस्पताल गएकी थिएँ तर म हलुङ्गो न हलुङ्गो सिमलको भुवाभन्दा पनि हलुङ्गो मन लिएर फर्कंदै छु | विगतका कुराहरु मनमा खेलाउँदा-खेलाउँदै कतिखेर जाम खुलेर गाडीले मेरो गन्तव्यस्थल पुराइसकेको रहेछ, खलासीको ‘कोटेश्वर ! कोटेश्वर !’ भनेर चर्को स्वरमा कराएको सुनेर बल्ल म झस्किएँ अनि हलुङ्गो र आतुर मन लिएर प्रभुलाई धन्यवाद दिंदै ओर्लिएँ |

बसबाट ओर्लेपछि घर पुगुन्जेल बाटाभरि मैले इसहाककी आमा ‘साराह’, एसाव र याकुबकी आमा ‘रेबिका’, युसुफकी आमा ‘राहेल’, शिमशनकी आमा र शमुएलकी आमा ‘हान्ना’लाई सम्झिएँ जोहरु बाँझोपनको कष्टदेखि गुज्रे र अन्तमा परमेश्वरको कृपाले महान ‘आमा’ बने | मलाई पनि परमेश्वरले तिनै आमाहरुको कोटीमा राखिदिनुभएकोमा मेरा हर्षाश्रु खसे | आँखाको डील भरिएर गालामा झरेका आँसुलाई चुन्नीले पुछ्दै गर्दा मेरा मनमा गलाती ४:२७ को वचन बोलियो, ‘हे नजन्माउने बाँझी आनन्द गर ! हे प्रसवपीडा थाहा नपाउने, मन खोलेर कराऊ किनभने पति भएकी स्त्रीको भन्दा त्यागिएकी स्त्रीका सन्तान धेरै छन् |’ बाँझी साराहलाई परमेश्वरले सान्तवनास्वरूप प्रतिज्ञाको जुन वचन दिनुभएको थियो, त्यही वचन मेरो हृदयमा चुलिएर आउँदा मेरा अश्रुधारा साउनको भेलझैं भएँ जहाँ म रोएकी त नसही तर म गजबले दन्तलहरसहित मुस्कुराएकी पो थिएँ, हल्लेलुयाह !

(समाप्त)

(आशिषित कथा ) – अरुणा छन्त्याल ( मिमोसा)

Leave a Reply